Home विविध लाओसको गोल्ड माइनिङमा नेपाली ईन्जिनियर किरण शाहको सफलता

लाओसको गोल्ड माइनिङमा नेपाली ईन्जिनियर किरण शाहको सफलता

0
3

लाओस, १३ साउन । वैदेशिक रोजगारी भन्नेबित्तिकै अधिकांश नेपालीको मनमा श्रम, संघर्ष र जीविकोपार्जनको लागि मात्रै हो भन्ने प्रथा थियो । तर बिश्वमा केही नेपाली यस्ता पनि छन्, जसले आफ्नो ज्ञान, सीप र नेतृत्व क्षमताका आधारमा विश्वस्तरीय उद्योगमा सम्मानजनक स्थान बनाएका छन । बाँकेको खजुरा गाउँपालिकाका इन्जिनियर किरण शाह त्यस्तै एक उदाहरण हुन्, जसले लाओसको गोल्ड तथा कपर माइनिङ उद्योगमा दुई दशकभन्दा बढी समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालको परिचय अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेका छन ।
फर्स्ट सर्भिस माईनिङ एण्ड ईनर्जि लाओसका सिईओ शाह
सन् २००६ मा अस्ट्रेलियन कम्पनीमार्फत इन्जिनियरका रूपमा लाओस पुगेका थिए ।
उक्त प्रोजेक्ट सकाएर केही समय युके गएर पुन लाओस फर्किएका शाहले
सुरुवाती दिनमा विभिन्न अन्तर्राष्ट्रिय माइनिङ तथा ऊर्जा परियोजनामा प्राविधिक जिम्मेवारी सम्हाल्दै अध्ययन गरे । निरन्तर सिकाइ, मेहनत र व्यावसायिक दक्षताका कारण उनी आज लाओसको गोल्ड तथा कपर माइनिङ उद्योगका अनुभवी इन्जिनियर तथा सफल व्यवसायीका रूपमा परिचित छन्।
शाहले माइनिङ उद्योग विश्वकै सबैभन्दा चुनौतीपूर्ण र उच्च प्रविधि प्रयोग हुने क्षेत्रमध्ये एक भएको बताए। उनका अनुसार कुनै पनि खानी सञ्चालन गर्नुअघि विस्तृत भूगर्भीय अध्ययन, खनिजको गुणस्तर परीक्षण, वातावरणीय प्रभाव मूल्यांकन, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड, प्रशोधन प्रविधि र दक्ष व्यवस्थापनको संयोजन आवश्यक हुन्छ।

“धेरैले माइनिङ भनेको जमिन खनेर सुन निकाल्ने मात्र हो भन्ने सोच्नुहुन्छ,” शाह भन्छन्, “तर वास्तविकता त्योभन्दा धेरै फरक छ। एउटा सफल माइनिङ परियोजनामा सयौँ विशेषज्ञको टोली, अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्ड
अनुसारको व्यवस्थापन आवश्यक पर्छ।”

उनले हालसम्म तीनवटा गोल्ड तथा कपर प्रशोधन प्लान्टको डिजाइन, इन्जिनियरिङ व्यवस्थापन, निर्माण तथा सफल सञ्चालनमा नेतृत्व गरिसकेका छन्। एउटा मात्र प्रशोधन प्लान्ट निर्माण गर्नु पनि ठूलो उपलब्धि मानिने क्षेत्रमा लगातार तीनवटा परियोजना सफलतापूर्वक सम्पन्न गर्नु नेपाली इन्जिनियरका लागि अन्तर्राष्ट्रिय स्तरको उपलब्धि मानिन्छ।

माइनिङसँगै शाहले लाओसका विभिन्न जलविद्युत् आयोजनामा पनि इन्जिनियरिङ तथा प्राविधिक व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका छन्। जलविद्युत् उत्पादन र निर्यातमा अग्रणी राष्ट्रका रूपमा परिचित लाओसमा ऊर्जा र माइनिङ दुवै क्षेत्रमा समान दक्षता प्रदर्शन गर्ने नेपाली इन्जिनियरका रूपमा उनले छुट्टै पहिचान बनाएका छन्।

उनका अनुसार आधुनिक माइनिङ उद्योगको सफलता उत्पादनको परिमाणले मात्र निर्धारण हुँदैन। वातावरण संरक्षण, स्थानीय समुदायसँगको सहकार्य, श्रमिकको सुरक्षा, प्रविधिको प्रभावकारी प्रयोग र प्राकृतिक स्रोतको दिगो उपयोग पनि उत्तिकै महत्वपूर्ण पक्ष हुन्। त्यसैले विकसित मुलुकहरूले खानी विकासलाई वैज्ञानिक अनुसन्धान र उच्च प्रविधिसँग जोडेर अघि बढाउने गरेका छन्।

नेपालमा पनि खानी क्षेत्रको सम्भावना अत्यन्त ठूलो रहेको शाहको भनाइ छ। सुन, तामा, फलाम, जस्ता बहुमूल्य खनिजको पर्याप्त सम्भावना भए पनि स्पष्ट नीति, पर्याप्त अनुसन्धान, आधुनिक प्रविधि र लगानी अभावका कारण त्यसको उचित उपयोग हुन नसकेको उनले बताए।

“नेपालसँग प्राकृतिक स्रोतको अभाव छैन,” उनले भने, “हामीसँग कमी भएको कुरा भनेको दीर्घकालीन सोच, वैज्ञानिक अनुसन्धान र लगानीमैत्री नीति हो। यदि सरकारले स्पष्ट कानुनी व्यवस्था, निजी क्षेत्रको सहभागिता र अन्तर्राष्ट्रिय प्रविधिलाई प्रोत्साहन गर्न सके नेपालमा पनि विश्वस्तरीय माइनिङ उद्योग विकास गर्न सकिन्छ।”

उनका अनुसार वैज्ञानिक ढंगले खानी विकास गर्न सके नेपालमा लाखौ रोजगारी सिर्जना हुनेछ। यसले स्थानीय पूर्वाधार विकास, औद्योगिकीकरण, निर्यात वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउनेछ। उनले खानी विकासलाई केवल खनिज उत्खननको विषयका रूपमा नभई समग्र आर्थिक विकाससँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरे।

शाहले आफू विदेशमा हासिल गरेको अनुभव नेपालमै प्रयोग गर्न इच्छुक रहेको पनि बताए। आधुनिक माइनिङ प्रविधि, अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणाली र वातावरणमैत्री अभ्यास नेपालमा लागू गर्न सके देशले खानी क्षेत्रमा नयाँ युगको सुरुआत गर्न सक्ने उनको विश्वास छ।

उनका अनुसार विश्वका विकसित राष्ट्रहरूले प्राकृतिक स्रोतको वैज्ञानिक उपयोगमार्फत आर्थिक समृद्धि हासिल गरेका छन्। नेपालले पनि आफ्ना प्राकृतिक स्रोतको दीर्घकालीन योजना बनाएर उपयोग गर्न सके वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै देशभित्रै रोजगारी र लगानीको वातावरण सिर्जना गर्न सकिन्छ।

बाँकेको एउटा सामान्य परिवेशबाट सुरु भएको किरण शाहको यात्रा आज अन्तर्राष्ट्रिय माइनिङ उद्योगको नेतृत्वसम्म पुगेको छ। उनले केवल व्यक्तिगत सफलता हासिल मात्रै गरेका छैनन्, नेपाली इन्जिनियरहरूको क्षमता विश्वस्तरमा प्रतिस्पर्धी रहेको प्रमाण पनि दिएका छन्।

आज लाखौँ नेपाली विदेशमा विभिन्न क्षेत्रमा कार्यरत छन्। तीमध्ये केहीले श्रममार्फत देशको अर्थतन्त्रमा योगदान गरिरहेका छन् भने किरण शाहजस्ता दक्ष नेपालीहरूले ज्ञान, प्रविधि र नेतृत्वमार्फत नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा उँचो बनाइरहेका छन्। उनको दुई दशक लामो यात्रा नेपाली युवाका लागि प्रेरणा मात्र होइन, नेपालले सही नीति र दूरदृष्टि अपनाए प्राकृतिक स्रोतको सदुपयोगबाट समृद्धिको नयाँ अध्याय सुरु गर्न सक्ने सम्भावनाको सशक्त सन्देश पनि हो।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here