काठमाडौँ, ११ असार । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महाङ्घको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
सङ्गठनको ४७ औँ स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत महासङ्घको पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सम्मान गरेको हो ।
सङ्गठनका अध्यक्ष भीमज्वाला राईले महासङ्घका नवनिर्वाचित अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला, प्रमुख सल्लाहकार विजयबहादुर स्वाँर, महासचिव डेकनाथ गौतम, कोषाध्यक्ष राजेन्द्र आचार्यलगायत उपत्यकाबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार गर्नका लागि यस क्षेत्रमा कार्यरत मजदुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले यातायात क्षेत्रको साझा मुद्दामा महासङ्घ सँधै मजदुरको साथमा रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष सिटौलाले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन र लगानीको सुरक्षा गर्ने नीति निर्माणका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सङ्गठनका अध्यक्ष राईले निजी क्षेत्रको लगानीको सुरक्षा, कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण र यात्रुको सुरक्षित यात्रा अधिकार सुनिश्चित गर्न मजदुर सङ्गठन र व्यवसायी मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।























