काठमाडौँ, ८ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेता खरेलको ८० वर्षको उमेरमा आइतबार राति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभापति थापाले आज शोक सन्देशमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजन समवेदना प्रकट गर्नुभएको छ । विद्यार्थी जीवनदेखि नै कांग्रेसको आदर्श, सिद्धान्त र लोकतान्त्रिक आन्दोलनमा निरन्तर समर्पित रहनुभएका नेता खरेलको नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी झण्डै नौ वर्ष जेल जीवन बिताउनुभएको थियो ।
सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रूपमा विसं २००३ मा काभ्रेपलाञ्चोक खरेलथोकमा जन्मनुभएका खरेल कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहनुभएको थियो ।
जननायक बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईको सामिप्यमा रहेर उहाँले पार्टी सङ्गठनका लागि उल्लेखनीय योगदान पु¥याउनु भएको पार्टी कार्यालयले जनाएको छ । विसं २०४९ देखि २०५३ असारसम्म कांग्रेसको केन्द्रीय कार्यालय उहाँकै बानेश्वरस्थित घरबाट सञ्चालन भएको थियो ।
विसं २०४८, २०५१, २०५६ र २०६४ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट उहाँ कांग्रेसको उम्मेदवार हुनुभयो । विसं २०५६ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नं ३ बाट विजयी खरेल शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याणमन्त्री हुनुभयो ।
कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर उहाँले पार्टी सङ्गठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसको सङ्गठन निर्माण र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि उहाँले पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेसको सङ्गठन सुदृढीकरण, लोकतन्त्र स्थापनाका आन्दोलन तथा लोकतन्त्र पुनःस्थापनाको सङ्घर्षका क्रममा उहाँले भोग्नुभएको लामो जेल जीवन, त्याग, समर्पण र सङ्घर्ष पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टीले उल्लेख गरेको छ ।
उहाँको निधनबाट कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ । उहाँका तीन छोरा कृष्णचन्द्र खरेल, महेश खरेल (पाँचखाल नगरपालिकाका प्रमुख एवं काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ का क्षेत्रीय सभापति) र शैलेस खरेल हुनुहुन्छ ।






















