Home समाचार एभरेष्ट अस्पताल बानेश्वरमा डिजिटल सुझाव पेटिका सञ्चालनमा

एभरेष्ट अस्पताल बानेश्वरमा डिजिटल सुझाव पेटिका सञ्चालनमा

0
2

काठमाडौँ, २८ जेठ । एभरेस्ट अस्पताल नयाँबानेश्वरले सेवाग्राही, बिरामी, आफन्त तथा शुभेच्छुकको आवाजलाई अझ प्रभावकारी रूपमा सुन्ने र सम्बोधन गर्ने उद्देश्यले “डिजिटल सुझाव पेटिका” सञ्चालनमा ल्याएको छ।

समय सँगै प्रविधि बदलिएको सेवा दिने शैली बदलिएको र अब सुझाव दिने माध्यम पनि आधुनिक बनेकाले उक्त पेटिका सञ्चालनमा ल्याएको हो । अस्पतालले सुरु गरेको यो नवीन प्रणाली मार्फत सेवाग्राहीले आफ्ना अनुभव, सुझाव, गुनासा वा प्रशंसाका भावनाहरू बोलेर, लेखेर वा फोटो खिचेर सहज रूपमा पठाउन सक्ने अस्पतालले जनाएको छ ।

यस डिजिटल माध्यमको विशेषता केवल सुझाव सङ्कलनमा मात्र सीमित नभई सेवाग्राहीले आफूले दिएको सुझाव अस्पताल प्रशासनले प्राप्त गर्‍यो कि गरेन, त्यसको अध्ययन भयो कि भएन र सम्बोधनका लागि के कदम चालियो भन्ने विवरण समेत आफैंले हेर्न सक्ने व्यवस्था गरिएको छ।

यसले सुझाव दातालाई पारदर्शिता र सहभागिताको अनुभूति गराउने विश्वास अस्पताल प्रशासनले लिएको छ। अस्पताल प्रशासनका अनुसार, स्वास्थ्य सेवा केवल उपचारको प्रक्रिया मात्र होइन, विश्वास, संवाद र निरन्तर सुधारको यात्रा पनि हो। बिरामी तथा सेवाग्राहीका अनुभवहरू नै संस्थाको गुणस्तर अभिवृद्धिका महत्वपूर्ण मार्गदर्शक हुन्। यही मान्यतालाई आत्मसात् गर्दै डिजिटल सुझाव पेटिका सञ्चालनमा ल्याइएको हो।

अस्पताल प्रशासन प्रमुख दीपकचन्द्र बरालले बिरामीको उपचार मात्र नभई उहाँहरूको आवाज सुन्न यस्तो पेटिका सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । प्रत्येक सुझावलाई सुधारको अवसरका रूपमा लिने हाम्रो प्रतिबद्धता छ। डिजिटल सुझाव पेटिकाले अस्पताल र सेवाग्राही बीचको दूरी घटाउँदै पारदर्शी, उत्तरदायी र सहभागी सेवा संस्कृतिको विकास गर्नेछ।

एभरेस्ट अस्पतालले यस प्रणाली मार्फत प्राप्त सुझावहरूलाई नियमित रूपमा विश्लेषण गरी सेवाको गुणस्तर, बिरामी मैत्री वातावरण तथा संस्थागत सुधारका कार्यक्रमहरूमा उपयोग गर्ने जनाएको छ।

“सुझाव दिनुहोस्, परिवर्तन देख्नुहोस्” भन्ने मूल नारा सहित सञ्चालनमा आएको यो अभियानले अस्पताल सेवामा नागरिक सहभागिताको नयाँ अध्याय प्रारम्भ गर्ने विश्वास गरिएको छ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here