Home राजनीति कांग्रेसमा अद्यावधिकको नाममा गुठलाई प्रश्रय दिने र कार्यकर्तालाई अपमान गर्ने काम बन्द...

कांग्रेसमा अद्यावधिकको नाममा गुठलाई प्रश्रय दिने र कार्यकर्तालाई अपमान गर्ने काम बन्द होस् : दिपक खड्का

0
45

काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका नेता दिपक खड्काले कांग्रेसमा सदस्यता अद्यावधिकको नाममा गुठलाई प्रश्रय दिने र निष्ठावान कार्यकर्ताको अपमान गर्ने काम बन्द गर्न आग्रह गर्नुभएको छ ।

नेता खड्काले आज सामाजिक सञ्जाल फेससबुकमार्फत संखुवासभामा भौगोलिक जटिलताका कारण अद्यावधिक प्रक्रियामा कठिनाई भएको र विभिन्न तहबाट गुनासो प्राप्त भएको भन्दै अद्यावधिकको नाममा कार्यकर्तालाई अपमान नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले पार्टीको एकता, सुदृढीकरण र लोकतान्त्रिक मूल्यमान्यतालाई थप सशक्त बनाउँदै महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भइरहेका बेला क्रियाशील सदस्यता अद्यावधिक गर्ने नाममा कार्यकर्तामाथि दबाब दिइएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको हो ।

नेता खड्काले गत पुस १० गतेसम्म सम्पन्न भएको क्रियाशील सदस्यता नवीकरण तथा वितरण प्रक्रियालाई यथावत् कायम राख्न माग गर्नुभएको छ । निर्धारित समयभित्र सदस्यता नवीकरण गर्न छुटेका र नयाँ लिन चाहनेका लागि सुरु गरिएको प्रक्रियालाई विना अवरोध अघि बढाउनुपर्ने उहाँको भनाई छ ।

“महाधिवेशन लम्ब्याउने बहानामा क्रियाशील सदस्यता अद्यावधिक गर्ने नाममा निष्ठावान कार्यकर्तामाथि अनावश्यक दबाब, धाकधम्की र निष्कासनको डर देखाउने प्रवृत्ति देखिएको छ, यस्तो प्रवृत्ति तत्काल बन्द हुनुपर्छ,”– उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस कुनै व्यक्तिको आदेश वा हैकममा नभई बीपी कोइरालाको विचार, नीति, विधान र लोकतान्त्रिक मूल्यमा चल्नुपर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा सोधिने स्पष्टीकरण तथा सदस्यता खारेजीको धम्कीको कुनै अर्थ नहुने चेतावनी समेत उहाँले दिनुभयो ।

“कांग्रेस नेताले होइन, इमान्दार कार्यकर्ताले बनाएको र जोगाएको पार्टी हो, त्यसैले गाउँ–गाउँमा रहेका सिद्धान्तनिष्ठ साथीहरू विचलित हुनुपर्दैन, तपाईंहरूको प्रतिनिधित्व सुनिश्चित गराउन हामी प्रतिबद्ध छौँ,”– नेता खड्काले भन्नुभयो ।

उहाँले गुटबन्दीलाई प्रश्रय दिने र निष्ठावान कार्यकर्ताको अपमान गर्ने कार्य रोक्न माग गर्दै नेताहरुले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक तथा भ्रातृ संस्थाका साथीहरूलाई कुनै पनि भ्रममा नपरी महाधिवेशनको सुनिश्चितताका लागि सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here