Home ब्रेकिङ घरजग्गा व्यवसायलाई सहजीकरण गर्न अध्यक्ष कुँवरको माग

घरजग्गा व्यवसायलाई सहजीकरण गर्न अध्यक्ष कुँवरको माग

0
38

काठमाडौँ, १६ जेठ । नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष ईन्जिनीयर दिपक कुँवरले घरजग्गा व्यवसायीलाई सहजीकरण गर्न सरकारसँग माग गर्नुभएको छ ।

नेपाल जग्गा तथा आवास विकास सङ्घको १९ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले घरजग्गा क्षेत्रका विद्यमान चुनौती र सरकारले चाल्नुपर्ने नीतिगत कदमबारे ध्यानाकर्षण गराउनुभएको हो ।

अध्यक्ष कुँवरले सरकारी नीतिको अस्पष्टताका कारण रियल इस्टेट व्यवसायी सङ्कटमा परेको र यसले आम नागरिकको आवासमा पहुँचसमेत कठिन बनाएको बताउनुभयो । “अस्पष्ट नीतिका कारण व्यवसायी आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्, जुन मुलुकको आर्थिक समृद्धिका लागि डरलाग्दो अवस्था हो,”– उहाँले भन्नुभयो ।

उहाँले व्यवस्थित बस्ती विकासका लागि ‘रियल इस्टेट’ कम्पनीलाई जग्गा हदबन्दी नलाग्ने व्यवस्था गर्न र निर्मित आवास तथा अपार्टमेन्ट बिक्रीमा रहेका कानुनी बाधा हटाउन माग गर्नुभएको छ ।

यस्तै, कित्ताकाटमा हाल देखिएको अस्थायी सहजीकरणलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, ‘प्लानिङ’ परमिट प्राप्त कम्पनीलाई नगर विकास समिति सरहको सुविधा दिई ‘ल्याण्ड पुलिङ’ र ‘हाउस पुलिङ’ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने, एकीकृत सहरी विकास ऐन तथा भूमि संहिता जारी गर्नुपर्ने, मालपोत तथा नापी कार्यालयमा विद्युतीय प्रणाली लागू गरी पारदर्शिता र छरितो कार्यविधि सुनिश्चित गर्न माग गर्नुभयो ।

अध्यक्ष कुँवरले आफुले राखेका माग व्यवसायीको हितमा मात्र नभई राष्ट्रको समग्र सामाजिक–आर्थिक विकासमा भएको बताउनुभयो । “सुरक्षित, दिगो र समावेशी सहरीकरणमार्फत नेपाललाई आधुनिक बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुनु आवश्यक छ,”– उहाँले भन्नुभयो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here