काठमाडौँ, १३ जेठ । मुलुकको सङ्घीय राजधानी काठमाडौँदेखि पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकाशं सार्वजनिक सवारी साधनमा सिसि क्यामरा जडान गरिएको छ ।
सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा जिपिएस सिस्टम र सिसि क्यामरा जडान गर्ने तयारी गरिरहँदा पूर्व यातायात व्यवस्थापन प्रालिले भने काठमाडौँको नयाँबसपार्कबाट नारायणी पूर्व सञ्चालन हुने सबै सवारी साधनमा जिपिएस सिस्टम र सिसि क्यामरा जडान गरेको हो ।
पूर्व यातायात व्यवस्थापन प्रालिका अध्यक्ष रजन रोक्काले नयाँबसपार्कदेखि पूर्वका विभिन्न स्थानमा चल्ने ८१ सार्वजनिक सवारी साधनमा जिपिएस सिस्टम र सिसि क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।
काठमाडौँदेखि पूर्व सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई विस २०८० साउनदेखि एउटै कम्पनीमा आवद्ध गराएर सञ्चालन गरिँदै आएको छ । उक्त कम्पनीमार्फत हाल तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काकँडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर कटारी, जनकपुर, राजविराज, विरगञ्जलगायतका स्थानमा सञ्चालन हुँदै आएका छन् ।
कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापा सरकारले अगाडि सारेको कार्ययोजनालाई पूर्व यातायात व्यवस्थापन प्रालिले कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले अब चाँडै नै आफ्नो कम्पनीको बसमा ‘लगेज ट्याग’ लागू गरिने जानकारी दिनुभयो ।
पूर्व क्षेत्रमा जाने यात्रुको सहजताका लागि पूर्व यातायात व्यवस्थापन प्रालिले ‘अनलाईन टिकट’ प्रणाली समेत लागू गरिसकेको छ ।
























