काठमाडौँ, ५ जेठ । काठमाडौंको टोखा–६, धापासीस्थित एसिया प्यासिफिक स्कुलले अन्तर्राष्ट्रिय स्तरको प्रविधि प्रतिस्पर्धामा ठूलो सफलता हासिल गरेको छ।
इन्डोनेसियाको राजधानी जाकर्तामा आयोजित “कोडभर ७.०” (Codeavour 7.0) प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले दुईवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय पुरस्कार जित्दै नेपालको नाम उचो बनाएका हुन्।
जाकर्तास्थित बिनस विश्वविद्यालय (Binus University) मा मे १६ र १७ तारिखमा सम्पन्न उक्त प्रतियोगितामा विश्वका ४६ भन्दा बढी देशका १ हजार ५ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूबीच भएको कोडिङ, रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रतिस्पर्धामा एसिया प्यासिफिकका विद्यार्थीहरू उत्कृष्ट ठहरिएका हुन्।
छात्रा टोलीलाई ‘STEM’ अवार्ड
प्रतियोगिताको ‘सिनियर क्याटेगोरी’ अन्तर्गत एसिया प्यासिफिकका छात्राहरुको टोलीले “International Championship for Girls in STEM” अवार्ड प्राप्त गरेको छ। प्राञ्जल अधिकारीको नेतृत्वमा लनि गुरुङ र सभ्यता उपरकोटी सम्मिलित टोलीले “Carbon Ninjas – Carbon Cascade” नामक परियोजना प्रस्तुत गरेका थिए।
जलवायु परिवर्तन र कार्बन उत्सर्जन न्यूनीकरणमा केन्द्रित यो परियोजनालाई निर्णायकहरूले उच्च मूल्यांकन गरेका थिए।
छात्र टोलीलाई ‘Tech for Excellence’ अवार्ड
त्यसैगरी, विद्यालयको छात्र टोलीले “International Championship in Tech for Excellence Award” हात पारेको छ। सिभान्स रावलको नेतृत्वमा अनिस प्याकुरेल र युनिक महर्जन सम्मिलित टोलीले “Omni – Your Medicine Companion” नामक नवप्रवर्तनात्मक परियोजना प्रदर्शन गरेका थिए। यो परियोजना स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग गरी औषधि व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको हो।
शैक्षिक क्षेत्रकै गौरव
स्थापनाको पाँच वर्षभित्रै आध्यात्मिक शिक्षा, नवप्रवर्तन र प्रविधिका क्षेत्रमा शृंखलाबद्ध अन्तर्राष्ट्रिय सफलता पाएको यस विद्यालयले यो उपलब्धिलाई नेपालकै शैक्षिक क्षेत्रको गौरवको रूपमा लिएको छ।
विद्यालयका शिक्षा निर्देशक राजन अधिकारीले विद्यार्थीहरूको रचनात्मक सोच, प्रविधिमैत्री सिकाइ र अन्तर्राष्ट्रिय स्तरको ‘एक्सपोजर’का कारण यो सफलता सम्भव भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रा विद्यार्थीहरूले विश्वमञ्चमा आफ्नो क्षमता प्रमाणित गरेका छन्। आगामी दिनमा पनि विद्यालयले विश्वस्तरीय शिक्षा र नवप्रवर्तनात्मक कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउनेछ।”
प्रविधि र सिर्जनशीलतालाई प्राथमिकता दिँदै आएको एसिया प्यासिफिक स्कुलले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।


























