काठमाडौँ, २ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभएको छ ।
नेपाल माइक्रो बस कम्पनी प्रालिले वैशाख २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उहाँले यातायात क्षेत्रलाई व्यवस्थित बनाइने बताउनुभएको हो ।
नवनिर्वाचित अध्यक्ष सिटौलाले नयाँ नेतृत्वले देशको समग्र यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन लाग्ने बताउनुभयो ।
उहाँले सडक दुर्घटना कम गर्न मानवीय त्रुटि, सवारीको मेकानिकल अवस्था र सडक पूर्वाधारमा सुधार ल्याउन सरकारसँग समन्वय गरिने, अबको यातायात सेवालाई ’डिजिटलाइज’ गर्दै अनलाइन टिकेटिङ, जीपीएस प्रणाली र क्यासलेस (नगदरहित) भुक्तानीलाई प्राथमिकता दिइने बताउनुभयो ।
यस्तै, यातायात क्षेत्रबाटै चार जना सांसदहरू संसदमा पुगेको उल्लेख गर्दै सिटौलाले नीतिगत सुधारका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायसँग बलियो लबिइङ गरिने उल्लेख गर्नुभयो ।
सिटौलाले नागढुङ्गा सुरुङ मार्गको पहिलो पटक प्रयोग गर्दै राजधानी प्रवेश गरेको अनुभव सुनाउँदै नेपालको यातायात क्षेत्र अब आधुनिक युगमा प्रवेश गरिसकेको उल्लेख गर्नुभयो । उहाँले १३ खर्बभन्दा बढीको लगानी रहेको यस क्षेत्रलाई एकताबद्ध बनाएर लैजानु नै महासंघको मुख्य चुनौती र लक्ष्य रहेको बताउनुभयो ।
आगामी असारको पहिलो साता नयाँ कार्यसमितिको भव्य पदस्थापन कार्यक्रम हुने समेत उहाँले जानकारी गराउनुभयो ।























