आज केही भन्न मन लाग्यो, केही लेख्न मन लाग्यो।

0
19

डा विभूतिनाथ मिश्र

आज केही लेख्न मन लाग्यो,केही भन्न मन लाग्यो।।
किनकि मौन बस्नु अपराध जस्तै लाग्न थाल्यो।
सेतो कोटभित्र लुकेको मन
हरेक दिन नाडी मात्र होइन,
समयको धड्कन पनि जाँचिरहेछ।

चारैतिर राजनीति छ, तर नीति हराएको छ।
सत्ता छ, तर जिम्मेवारी अनाथ बनेको छ।
भाषण धेरै छन्, तर सत्य थाकेर कुना खोज्दैछ।

नेपाल अनिश्चितताको दोबाटोमा उभिएको छ
जहाँ संविधान कागजमै सीमित छ,
लोकतन्त्र नारा बनेको छ, र जनता केवल “संख्या”।
आज को उठ्छ, भोलि को ढल्छ,
यसको उत्तर सत्ता समीकरणसँग छ, जनताको पीडासँग होइन।

आज केही लेख्न मन लाग्यो,
किनकि रोग केवल शरीरमा छैन,
राज्यको चेतनामा पनि फैलिँदैछ।

सेतो कोट लगाएर
म दिनभर जीवन बचाउँछु,
तर बाहिर निस्कँदा
लोकतन्त्र क्ष्ऋग् मा देख्छु,
भेन्टिलेटरमा टिकेको,
नेतृत्वको निर्णय कुर्दै।

नेपाल आज अनिश्चितताको स्थायी वार्ड बनेको छ।
सरकार बदलिन्छ, नीति बदलिँदैन।
संविधान बाँचिरहेछ, तर आत्मा कमजोर छ।
जनता साक्षी मात्र छन्, निर्णयकर्ता होइनन्।
आज केही भन्न मन लाग्यो, केही लेख्न मन लाग्यो

किनकि नलेखे
मेरो अन्तरआत्मा बिरामी पर्छ।
म राजनीति बुझ्ने विज्ञ होइन,
तर पीडा चिन्न जान्ने मान्छे हुँ।
र पीडाले भन्छ, “सबै ठीक छैन।”

सायद
क्रान्ति आज सडकमा छैन,
कुनै भाषणमा छैन।
सायद क्रान्ति
इमानदार प्रश्नमा छ,
मानवीय व्यवहारमा छ,
र अझै बाँकी रहेको
थोरै विवेकमा छ।
राजनीति अब

सेवाभन्दा सत्ता हो,
दृष्टिभन्दा दाउपेच।
सत्य असहज छ,
प्रश्न अपराध जस्तै।
डाक्टर भएर म जान्दछु,
समयमै उपचार नभए
सामान्य रोग पनि
घातक हुन्छ।

आज केही लेखें,
किनकि आशा अझै मरेको छैन।
तर
घाइते छ, र उपचार खोज्दैछ।

(लेखक: ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ अर्थोपेडिक्स हुनुहुन्छ ।)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here