Home ब्रेकिङ नेपालको ट्रेड युनियन अधिकारको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठ्यो

नेपालको ट्रेड युनियन अधिकारको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठ्यो

0
17

काठमाडौँ, १९ असार । ईण्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (आइटीएफ)को बैठकमा नेपालको मुद्दा चर्को रुपमा उठेको छ ।

लण्डनमा जारी आइटिएफको विश्व सडक यातायात स्टेयरिंग समितीको दुई दिने बैठकमा नेपालको सडक सुरक्षा, प्रस्तावित चर्को ट्राफिक जरिवाना र खुम्चिँदै गएको ट्रेड युनियन अधिकारको विषयले प्राथमिकता पाएको हो ।

बैठकमा आइटिएफका सदस्य एवम् नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले नेपालमा बढ्दो सडक दुर्घटना र यसको दोष चालकमाथि मात्र थोपर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीको तथ्याङ्क उल्लेख गर्दै उहाँले नेपालमा दैनिक औसत ७ जनाको मृत्यु र ६६ वटा सडक दुर्घटना हुने गरेको जानकारी दिनुभयो । नेता राईले दुर्घटना हुनुमा चालक मात्र दोषी नभएको तर्क गर्दै सडकको दयनीय अवस्था, चालकको श्रम समयको निश्चितता नहुनु, रोजगारीको असुरक्षा र सामाजिक सुरक्षाको अभावलाई मुख्य कारणका रूपमा औंल्याउनुभयो ।

“बिना अध्ययन सबै दोष चालकलाई मात्र लगाउनु न्यायसंगत हुँदैन, सडक पूर्वाधारको सुधार, लामो दुरीमा विश्रामस्थलको व्यवस्था र चालकको पेसालाई मर्यादित बनाउन सके मात्र दुर्घटना न्यूनिकरण सम्भव छ,”– उहाँले भन्नुभयो ।

उहाँले सरकारले सरोकारवालासँग कुनै संवाद नगरी ट्राफिक उल्लंघनको नाममा जरिवाना रकम अत्यधिक बढाउन लागेकोमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो । यसविरुद्ध यातायात मजदुर संघले असार २२ गतेसम्म देशव्यापी रूपमा बसपार्क तथा कार्यथलोमा विरोध अभियान चलाइरहेको जानकारी गराउँदै उहाँले सो प्रस्ताव तत्काल खारेज गरी संवादमार्फत समाधान खोज्न माग गर्नुभयो ।

नेपालमा निजामति क्षेत्रको युनियन खारेजी र सार्वजनिक संस्थाहरूमा युनियनका कार्यालय बन्द गर्न मन्त्रालयहरूले गरेको परिपत्रलाई राईले ’ट्रेड युनियनमाथिको आतंक’ को संज्ञा दिनुभयो । उहाँले संविधानले दिएको मौलिक हक खोस्नुभन्दा संवादबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

बैठकले सुशासन, आईएलओ अभिसन्धि १९३ को कार्यान्वयन, सदस्यता वृद्धि र आगामी कार्ययोजनाबारे महत्वपूर्ण निर्णय गरेको छ । फेडेरेशनका महासचिव स्टिफन कटनले ट्रेड युनियन अधिकार र लोकतन्त्रको रक्षाका लागि आईटिएफ सधैं अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा १० वर्षदेखि ल्याण्ड विभागको निर्देशक पदमा रहेका नोअल कर्डलाई बिदाइ गरियो भने नवनियुक्त निर्देशक सिन सेयरलाई स्वागत गरिएको थियो । सन् १८९६ मा स्थापित लण्डनस्थित आईटिएफमा विश्वका १४९ देशका ६७७ युनियनहरू आबद्ध छन्, जसले करिब दुई करोड यातायात मजदुरहरूको प्रतिनिधित्व गर्दछ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here