काठमाडौं, १७ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् भने ११६ जना घाइते भएका छन्। प्रहरीको तथ्याङ्क अनुसार असार १६ गते भएको मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको हो।
तथ्याङ्क अनुसार सबैभन्दा धेरै मानवीय क्षति कोशी, मधेश र लुम्बिनी प्रदेशमा भएको छ। कोशी प्रदेशमा १ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन्। त्यस्तै, मधेश प्रदेशमा २ जनाको मृत्यु र १९ जना घाइते भएका छन् भने लुम्बिनी प्रदेशमा पनि २ जनाको ज्यान गएको छ र १३ जना घाइते भएका छन्।
यस्तै, बागमती प्रदेशमा १६, काठमाडौँ उपत्यकामा ११, सुदूरपश्चिम प्रदेशमा १० जना घाइते भएका छन् । गण्डकी प्रदेशममा भने सवारी दुर्घटनाबाट कुनै मानवीय क्षति भएको छैन।
जम्मा मानवीय क्षतिलाई हेर्दा २४ घण्टाको अवधिमा ५ जनाको दुखद मृत्यु भएको छ भने देशभर कुल ११६ जना विभिन्न दुर्घटनामा परी घाइते भएका छन्। सडक सुरक्षाका नियमहरू पालना नगर्दा र तीव्र गतिका कारण यस्ता दुर्घटनाहरू हुने गरेको भन्दै ट्राफिक प्रहरीले चालकहरूलाई सचेत रहन आग्रह गरेको छ।

























