काठमाडौँ, ३० जेठ । नेपाल प्रहरीले कारभित्र लुकाएर ल्याएको ३० हजार क्याप्सुल ट्रामाडोलसहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले आज बाराको सिम्रौनगढबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश विएडी ९२०१ नम्बरको रातो रङको सुजुकी कारमा ल्याउँदै गरेको ३० हजार क्याप्सुल ट्रामाडोलसहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारत बिहार सितामढीका ३२ वर्षीय अहमद लड्डन र सोही स्थानका ३३ वर्षीय मोहम्मद सदाम रहेका छन् ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले ललितपुर महानगरपालिका वडा नं २३ बाट नख्खुतर्फ आउँदै गरेको उक्त कारलाई रोक्न खोज्दा नरोकेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिसँग प्रहरीले लागूऔषध ट्रामाडोल ३० हजार क्याप्सुल, सुजुकी कार एक थान, मोटरसाइकल एक थान र मोबाइल पाँच थान बरामद गरेको छ । पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।
























