नुवाकोट, ९ जेठ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ६ स्थित गुर्जेमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिवपुरी–६ का वडाअध्यक्ष विष्णु श्रेष्ठले वडाबासीलाई आँखासम्बन्धी चेकजाँच गरिएको बताए । श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा र समग्र विकासका क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।
वडाबासीको आधारभूत आवश्यकतालाई ध्यानमा राख्दै वडाले विभिन्न जनमुखी कार्यक्रमहरू अघि सारेको उनको भनाई थियो । स्वास्थ्यलाई प्राथमिकतामा राख्दै वडाले हाल १० वटा विभिन्न स्थानमा ‘गाउँ–घर क्लिनिक’ सञ्चालन गरिरहेको उनले बताए । यी क्लिनिक सार्वजनिक बिदाका दिनमा पनि तोकिएको निश्चित मितिमा नियमित रूपमा सञ्चालन हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसैगरी, वडाले तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । शिविरमा परीक्षण गरिएकामध्ये मोतिविन्दु फेला परेका बिरामीहरूलाई काठमाडौं लगेर निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको उनले बताए । बिरामीहरूको लागि यातायात र खानाको खर्च समेत वडाले नै बेहोर्ने गरेको छ । आज सञ्चालित शिविरमा १०० भन्दा बढीले सेवा लिएका छन् ।
शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन वडाले ‘शिक्षकलाई पढाउँ–पढाउँ लाग्ने, विद्यार्थीलाई पढौं–पढौं लाग्ने र अभिभावकलाई पठाउँ–पठाउँ लाग्ने’ वातावरण सिर्जना गर्ने मन्त्रलाई आत्मसाथ गरेको अध्यक्ष श्रेष्ठले बताए । यसका लागि शिक्षकहरूसँग नियमित छलफल र समन्वय गरी वडालाई गाउँपालिकाभरिमै शिक्षामा प्रथम बनाउने लक्ष्य राखिएको उनको भनाई छ ।
परम्परागत रूपमा सडक निर्माणलाई मात्र विकास मान्ने सोचलाई चिर्दै अध्यक्ष श्रेष्ठले आयआर्जन र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको बताए । स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै वडाबासीको जीवनस्तर उकास्न र वडालाई समृद्ध बनाउन आफूहरू निरन्तर लागिपरेको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । चुनौतीपूर्ण अवस्थाका बाबजुद जनताका अपेक्षालाई क्रमिक रूपमा सम्बोधन गर्दै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।






















