काठमाडौँ, ५ जेठ । नेपालमा पछिल्लो समय सवारी दुर्घटनामा परी दैनिक धेरैले अकालमा ज्यान गुमाउनु परिरहेको र सयौँ व्यक्तिहरू घाइते भइरहेका भन्दै दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले ८ बुँदे अपिल गर्नुभएको छ ।
अध्यक्ष सिटौलाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र यात्रुमैत्री बनाउन देशभरका यातायात व्यवसायी र गाडी स्टाफका लागि ८ बुँदे अपिल गर्नुभएको हो ।
उहाँले जारी गरेको अपिलमा सवारी साधन चलाउनुपूर्व प्राविधिक अवस्थाको अनिवार्य जाँच गर्न जोड दिनुभएको छ । “अबदेखि यात्रु चढाउनु अघि डिजेल–पेट्रोल, टायर, ब्रेक र स्टेरिङ, चार्जिङलगायत मेसिनरी पार्टपुर्जाहरूको राम्रोसँग परीक्षण गर्नुपर्नेछ,”–उहाँले भन्नुभयो ।
त्यसैगरी, सडक सुरक्षा र यात्रुको सुविधाका लागि चालकले सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गर्नुभएको छ । अत्यावश्यक फोन आएमा सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर मात्र कुरा गर्न आग्रह गर्नुभयो ।
यात्रुसँग गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने उहाँले बताउनुभयो । यात्रुसँग मिठो र सभ्य बोली बोल्न, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्तहरूको आवश्यकताअनुसार समय–समयमा शौचालयको व्यवस्था गर्न र यात्राको रुट तथा खाना खाने ठाउँबारे पूर्वजानकारी दिन पनि भनिएको छ ।
उहाँले माथि उल्लेखित नियमको पूर्ण पालना गर्न सबै यातायात व्यवसायी र कर्मचारीहरूलाई आग्रह गर्नुभयो । नियमको पालनाले सार्वजनिक यातायात क्षेत्र सुरक्षित र मर्यादित बन्ने र अनाकमा हुने धनजनको क्षति कम हुने विश्वास उहाँले लिनुभयो ।
























