Home ब्रेकिङ निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

0
2
काठमाडौँ, १२ चैत : सपथ ग्रहणमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहणमा सहभागी प्रतिनिधिसभाका नव निर्वाचित सदस्यहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, १९ चैत। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको सुरुमा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र मन्त्रिपरिषद गठन सम्बन्धी जानकारी दिने छन् ।

संसद् बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । संघीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।

राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो । नवनिर्वाचित सांसदहरुले यही चैत १२ गते शपथ ग्रहण गरेका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

शीर्ष नेताहरुले सम्बोधन गर्ने

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आज रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने तय भएको छ ।

कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको नाम भने टुंगो लागिसकेको छैन ।

प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुने

आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली ९पहिलो संशोधन० अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

बैठकमा ज्येष्ठ सदस्य केसीले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची समेत छ ।

सभामुख निर्वाचन तालिका सार्वजनिक हुने

आजकै बैठकबाट सभामुख निर्वाचन तालिका सार्वजनिक हुनेछ । बुधबार बसेको सर्वदलीय बैठकमा चैत २२ गते सभामुखको निर्वाचन हुने तालिकामा सहमति जुटेको थियो ।

सोही सहमति बमोजिम सभाका ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्ने छन् ।

बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here