काठमाडौँ, १० कात्तिक । यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न माग गरिएको छ ।
थाइल्याण्डस्थित बैँककको चुलालङ्कन विश्वविद्यालयमा सोमबारदेखि सुरु भएको तीनदिने ‘प्रथम विश्व सार्वजनिक यातायात सम्मेलनमा’ नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले नेपालमा कार्यरत यातायात क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारी कर्मचारीलाई सरकारले सञ्चय कोषको स्थापना गरी प्रोत्साहन गरेजस्तै सार्वजनिक यातायात मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने उल्लेख गर्नुभयो ।
विसं २०१९ सालबाट सरकारी कर्मचारीका लागि भनेर कर्मचारी सञ्चय कोष स्थापना गरेर संरक्षण गरिएको भएपनि यातायात, निर्माण, नाई, गलैंचा उद्योगलगायत अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा नभएको भन्दै उनीहरुका लागि विशेष व्यवस्था हुनुपर्ने महासचिव राईले बताउनुभयो ।
उहाँले केही बर्षदेखि विश्वभर नै विद्युतीय गाडीहरु सबैजसो देशमा बढिरहेकोमा नेपालमा ‘सफा टेम्पो’को नाममा सन् १९९३ बाट नै वातावरणमैत्री भनेर सञ्चालन भइरहेको भएपनि त्यहाँ कार्यरत स्वरोजगार श्रमिकलाई नेपाल सरकारको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनका बोर्ड सदस्य समेत रहनुभएका राईले नेपाल सरकारले यातायात श्रमिकको पञ्जीकरण गर्नुपर्ने, स्वरोजगार यातायात श्रमिकलाई सरकारले बेला बेला अनुदान दिंदै लगानीमा विनाव्याज ऋण उपलव्ध गराउनुपर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्ड अनुसारको यातायात श्रमिकको रोजगारी मर्यादित हुनुपर्ने बताउनुभयो ।
प्रथम विश्व सम्मेलनमा विश्वभरका विभिन्न देशबाट अनुसन्धानकर्ता, सरकारका प्रतिनिधी, रोजगारदाता, विषयविज्ञ, विश्वविद्यालयका प्राध्यापक, श्रमिक युनियन, एशियन विकास बैँक साथै यस क्षेत्रमा क्रियाशील विभिन्न विश्वस्तरका गैर सरकारी संस्थाका प्रतिनिधीको सहभागीता रहेको छ । उक्त सम्मेलन भोलिसम्म चल्नेछ ।