काठमाडौँ, १३ भदौ । वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले भोटेकोशी बाढीका पीडितलाई राहत र उद्दारका लागि रु एक लाख एक हजार सहयोग गर्नुभएको छ ।
पण्डित पोखरेलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु एक लाख एक हजार जम्मा गर्नुभएको हो । प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्दै उहाँले देशमा आइलागेको ठूलो प्राकृतिक विपत्तिको घडीमा सम्पूर्ण नेपालीहरूलाई मानवीय सेवामा जुट्न सार्वजनिक अपील गर्नुभएको छ ।
पछिल्लो समय निम्तिएको विनाशकारी प्रकोपले जनजीवन अस्तव्यस्त बनाएको भन्दै उहाँले आउँदै गरेको तीजका अवसरमा आयोजित विभिन्न खर्चिला कार्यक्रम स्थगित गरी त्यसबाट संकलित रकम बाढी पीडितलाई प्रदान गर्न आग्रह गर्नुभयो ।
पण्डित पोखरेलले अनावश्यक खर्च र तडकभडकका क्रियाकलाप सामाजिक सञ्जालमा प्रदर्शन नगर्न र त्यस्तो खर्च बरु पीडितसम्म पुरÞ्याउन अनुरोध गर्नुभएको छ । यस्तै, देशभरका पण्डित तथा गुरुहरूलाई कम्तीमा १५ दिनसम्म महायज्ञ जस्ता धार्मिक अनुष्ठानहरू स्थगित गरी मानवीय सेवा र उद्धार कार्यमा केन्द्रित हुन अपील गर्नुभएको छ ।
यसैगरी, हरेक नागरिकले सामाजिक सञ्जालमार्फत सहयोगका लागि सकारात्मक सन्देश प्रवाह गर्न र एकताको भावना जगाउन उहाँले जोड दिनुभयो । यस्तै, विदेशमा रहेका नेपालीलाई मातृभूमिको दुःखमा साथ दिन र राष्ट्रसेवक कर्मचारीलाई निर्भीक भएर उद्धार एवम् राहतमा खटिन प्रोत्साहन गर्नुभएको छ ।