काठमाडौँ, १५ साउन। नेपाली कांग्रेसले पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोसँग सम्बन्धित घटनापछि सम्पर्कविहीन रहेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को सकुशल खोजी तथा उद्धारका लागि उपलब्ध सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संयन्त्र परिचालन गर्न आग्रह गरेको छ।
शुक्रबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा कांग्रेसले पुर्जाको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै उहाँको सकुशल उद्धारका लागि संलग्न उद्धार टोलीको सफलताको कामना गरेको छ।
साथै पाकिस्तान सरकार, सम्बन्धित सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय उद्धार संयन्त्रलाई उपलब्ध सबै स्रोत, साधन, प्रविधि र विशेषज्ञ जनशक्तिको अधिकतम परिचालन गरी खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा अघि बढाउन अनुरोध गरेको छ।
कांग्रेसले नेपाल सरकारलाई पनि पाकिस्तान सरकार, नेपाली दूतावास तथा सम्बन्धित अन्तर्राष्ट्रिय निकायसँग उच्चस्तरीय कूटनीतिक समन्वय गर्दै आवश्यक सहयोग, सूचना आदानप्रदान र उद्धार प्रयासमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। आवश्यक परे नेपाली पर्वतारोहण तथा उद्धार विज्ञहरूको टोली परिचालन गर्ने सम्भावनासमेत अध्ययन गर्न सरकारलाई अनुरोध गरिएको छ।
विज्ञप्तिमा निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेको, साथै उहाँकै नेतृत्वमा नेपाली टोलीले के–टु को इतिहासमै पहिलो सफल शीतकालीन आरोहण सम्पन्न गरेको उल्लेख गरिएको छ।
वृत्तचित्रमार्फत नेपालको पर्वतारोहण परम्परा र नेपाली पर्वतारोहीहरूको क्षमतालाई विश्वमाझ स्थापित गर्न उहाँले महत्वपूर्ण योगदान पुर्याएको कांग्रेसको भनाइ छ।
कांग्रेसले निर्मल पुर्जालाई नेपालको साहस, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रिय गौरवको प्रतीकका रूपमा उल्लेख गर्दै उहाँको सफलता सम्पूर्ण नेपालीका लागि प्रेरणा र राष्ट्रिय आत्मविश्वासको स्रोत बनेको जनाएको छ।
यस कठिन घडीमा पुर्जाको परिवार, आफन्त र शुभेच्छुकप्रति ऐक्यबद्धता व्यक्त गर्दै कांग्रेसले उहाँको सकुशल उद्धार भई शीघ्र स्वदेश फर्किने विश्वास व्यक्त गरेको छ।