राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने

0
32

दाङ, २७ फागुन । काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तारसम्बन्धी औपचारिक सम्झौता भएको छ । आज निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मी र प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा श्याम लम्सालले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दुवै पक्षले गरेको सम्झौता अनुसार अब निजामती कर्मचारीले निजामती अस्पतालमार्फत पाउँदै आएका सेवा र सुविधाहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त गर्ने प्रतिष्ठानका निमित्त निर्देशक प्राडा रमेश कँडेलले जानकारी दिनुभयो । उपचारका साथै दुवै संस्थाले जनशक्ति, तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।

निजामती अस्पतालले कर्मचारीलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट दिँदै आएको छ । बहालवाला अधिकृतस्तरका कर्मचारीलाई ४० प्रतिशत र सोभन्दा तल्लो तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सेवा निवृत्त कर्मचारीले सबै किसिमका सेवामा ५० प्रतिशत छुट पाउने अस्पताल प्रशासनले जनाएको छ ।

सेवा प्राप्त गर्न कर्मचारीले विशेष सफ्टवेयर प्रणालीमा आवद्ध हुनुपर्ने निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीले बताउनुभयो । “कर्मचारीले आफ्नो र परिवारका सदस्यको नामसहितको फारम भर्नुपर्ने हुन्छ । उक्त विवरणलाई अस्पतालले अप्टिकल फाइबर नेटवर्कमार्फत ‘निजामती किताबखाना’को डाटाबेससँग जोड्नेछ । अस्पतालमा उपचारका लागि जाँदा सफ्टवेयरमा कर्मचारीको नाम प्रविष्ट भएपछि किताबखानाले रुजु गरेपछि कर्मचारी सरहको सुविधा प्राप्त हुनेछ”, उहाँले भन्नुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वैशाख १ गतेदेखि यो सेवा सुरु गर्ने लक्ष्य राखेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालका अनुसार देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीको सेवाका लागि यस्तो पहल गर्ने दाङ पहिलो भएको छ ।

निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीले राज्यको दायित्व पूरा गर्न सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुरूप राप्तीसँग सम्झौता गरिएको बताउनुभयो । विगत दुई वर्षदेखि एमबिबिएस र एमडीरएमएसजस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यो सम्झौताले विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here