काठमाडौं, १३ फागुन । ब्रिजवाटर इण्टरनेशनल कलेज ले ‘फुड फेष्टिबल २०८२’ अन्तर्गत ‘बाइट एण्ड डिलाइट फेष्ट’ नामक एकदिने महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कक्षा ११ र १२ मा होटल म्यानेज्मेण्ट विषय अध्ययनरत विद्यार्थीहरूको अगुवाइमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन जिल्ला होटल व्यवसायी संघ काठमाडौं का अध्यक्ष सुरेश बरालले गर्नुभयो। कलेज परिसरमा सम्पन्न कार्यक्रममा कलेजका प्राचार्य कृष्ण पौडेलको अध्यक्षता रहेको थियो।
स्वाद, सिर्जनशीलता र सांस्कृतिक अभिव्यक्तिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
यस वर्षको मेलामा विद्यार्थीहरूले स्वयं तयार पारेका २६ प्रकारका परिकारहरू समेटिएका १३ वटा स्टल सञ्चालनमा ल्याइएका थिए। स्थानीय मौलिक खानादेखि अन्तर्राष्ट्रिय व्यञ्जनसम्मको विविधता प्रस्तुत गरिएको कार्यक्रममा विद्यार्थीहरूले आफ्नो पाककला सीप, सिर्जनशीलता र प्रस्तुति कौशल प्रदर्शन गरेका थिए। प्रत्येक स्टलमा सहभागी टोलीले परिकारको उत्पत्ति, तयारी विधि तथा विशेषताबारे जानकारी दिँदै कार्यक्रमलाई शैक्षिक आयामसमेत प्रदान गरेका थिए।
महोत्सवमा कुकिङ शो, सांस्कृतिक प्रस्तुति, फुड टेस्टिङ, मनोरञ्जनात्मक खेल तथा फोटोग्राफी गतिविधिले सहभागीहरूको उत्साह थप उकासेको थियो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बरालले विद्यार्थीहरूको सीप र दक्षताले स्वदेशमै पर्यटन तथा आतिथ्य क्षेत्रमार्फत अनन्त सम्भावना सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले स्थानीय परिकारको मौलिकता संरक्षण र प्रवर्द्धनमार्फत नेपालप्रति विदेशी पर्यटकको आकर्षण अझ विस्तार गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा प्राचार्य पौडेलले प्रमुख अतिथिलाई धन्यवाद तथा मायाको चिनो प्रदान गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानभन्दा बाहिर नेतृत्व क्षमता, सामूहिक भावना, उद्यमशील सोच र सांस्कृतिक सम्मानको भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो।
कलेज प्रशासनले आगामी वर्षहरूमा यस्ता सिर्जनात्मक, शैक्षिक तथा सामुदायिक कार्यक्रमलाई अझ व्यापक र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना रहेको जनाएको छ। साथै, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी तथा स्थानीय समुदायको निरन्तर साथ र सहभागिताप्रति आभार व्यक्त गरिएको छ।

























