Home पर्यटन सहर केन्द्रीत पर्यटनलाई गाउँमा लैजान भिटोफको महत्वपूर्ण भूमिका छ : अध्यक्ष दाहाल

सहर केन्द्रीत पर्यटनलाई गाउँमा लैजान भिटोफको महत्वपूर्ण भूमिका छ : अध्यक्ष दाहाल

0
17

काठमाडौँ, २८ चैत । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहर केन्द्रीत पर्यटनलाई गाउँमा लैजान गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

भिटोफ नेपालको २७ औँ वार्षिक साधारणसभा एवम् १३ औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले ग्रामीण पर्यटन क्षेत्रको विकासमा भिटोफ नेपालले खेलेको भूमिका सराहनीय रहेको बताउनुभएको हो ।

“नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मुलुक हो, नेपालमा पर्यटनको अथाह सम्भावना रहेको छ, दिगो पर्यटन विकासका लागि ग्रामीण क्षेत्रमा पर्यटनको विकास हुन जरुरी छ,”–अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले गाउँमा होमस्टे खोल्दा र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदा घरेलु व्यवसाय प्रवद्र्धन, रोजगारी सिर्जना, संस्कृतिको संरक्षणमा सहयोग पुगेको बताउनुभयो । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्दा आयआर्जन बढ्ने उहाँको भनाई थियो । आर्थिक समृद्धिमात्र नभई सामाजिक रुपान्तरणको दिगो आधार ग्रामीण पर्यटन भएको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले ग्रामीण क्षेत्रमा पूर्वाधार अभाव र दक्ष जनशक्ति नहुँदा केही चुनौती थपिएको उल्लेख गर्नुभयो । पर्यटकलाई गुणस्तरीय सेवासँगै पर्यटकीय गन्तव्यको प्रवद्र्धन आवश्यक रहेको उहाँको भनाई थियो । ग्रामीण क्षेत्रको पर्यटनलाई सशक्त बनाउनुपर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

उहाँले पर्यटनको दिगो विकासका लागि आवश्यक पर्ने ऐन, कानून तर्जुमामा आफ्नो तर्फबाट सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले आफूअनुकुलको पर्यटनका कानून निर्माण गर्ने र स्थानीय सरकारले कार्यान्वयन गर्दै लैजाने भएकाले पर्यटनमैत्री कानून आजको आवश्यकता भएको उहाँको भनाई छ । अध्यक्ष दाहालले मुलुकको विकासका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

भिटोफ नेपालकी अध्यक्ष सकुन्तला देवकोटाले गाउँको पर्यटन क्षेत्रको विकासका लागि भिटोफ नेपालले काम गर्दै आइरहेको बताउनुभयो । उहाँले हालसम्म भिटोफ नेपालको नेतृत्वमा देशभरका ३२ वटा गाउँमा सामुदायिक होमस्टे मार्फत पर्यटन विकास गरेको उल्लेख गर्नुभयो ।

भिटोफको २७ औँ वार्षिक साधारणसभा तथा १३ औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसमेत रहेको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here