Home स्वास्थ्य ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’ प्रदान

‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’ प्रदान

0
51

काठमाडौँ, २९ चैत । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले स्वास्थ्य विद्यामा महत्त्वपूर्ण योगदान दिने २० जना तथा संस्थालाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ प्रदान गरेको छ ।

नेटवर्कको दशौँ वार्षिकोत्सवका अवसरमा शनिबार स्वास्थ्य क्षेत्रमा विशेष योगदान दिएका २० जना चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र संस्थालाई सम्मान गरिएको हो । उक्त अवार्ड पूर्र्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले प्रदान गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री गौतमले आफूभन्दा वरिष्ठ, समकक्षी तथा स्वास्थ्यकर्मीलाई हेल्थ अवार्डसहित सम्मान गर्न पाउँदा आफैँ सम्मानित भएको महसुस भइरहेको धारणा राख्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि कतिपय महत्त्वपूर्ण ऐन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

“म स्वास्थ्यमन्त्री भएका बेला सातवटै प्रदेशमा पुगेर स्वास्थ्यकर्मी र कर्मचारीको समस्या बुझेँ । स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्, कतिपय कर्मचारीको स्तरवृद्धि हुनसकेको छैन, कतिपय नर्स, चिकित्सकलगायत स्वास्थ्यकर्मीले विशेषज्ञ सेवा दिइरहेका छन् तर पदको अभावमा पुरानै पदमा रहेर काम गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभा ढकालले स्वास्थ्यकर्मीले आफ्नो परिवारलाई समय दिन नभ्याएर पनि बिरामीको सेवामा समय दिइरहनुभएकाले उहाँहरू सम्मानका लागि योग्य हुनुहुन्छ भन्नुभयो ।

“स्वास्थ्यकर्मीहरू निःस्वार्थ भावले बिरामीको सेवामा खटिइरहनुभएको छ । म आफू पनि स्वास्थ्यकर्मी भएकाले यस क्षेत्रका समस्याबारे जानकार छु । यी समस्या समाधानका लागि ऐन संशोधन गर्नुपर्ने जरुरी छ । स्वास्थ्यकर्मीहरूले पनि समयसापेक्ष हुँदै जनमुखी सेवा प्रवाह गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मीका समस्याबारे बोलिदिने कोही नभएको बताउनुभयो । उहाँले चिकित्सकहरू मुलुकमा राष्ट्रपति, मन्त्री र सचिव भइसके पनि यस क्षेत्रका समस्या समाधानमा उल्लेख्य उपलब्धि हासिल नभएको उल्लेख गर्नुभयो ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले विगतका वर्षदेखि आफ्नो मिडियाले हेल्थ अवार्ड प्रदान गर्दै आइरहेको बताउनुभयो । नेटवर्कले स्वास्थ्यकर्मीको सम्मानमा हरेक वर्ष राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रम आयोजना गर्दै आएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here