काठमाडौँ, १८ भदौ । काठमाडौँको ठमेलमा सञ्चालित रमादा होटल (ठमेल प्लाजा होटल एण्ड स्वीट्स)ले रसुवाको भोटेकोशीका बाढीपीडितलाई रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले आज प्रधानमन्त्री दैवी उद्दार कोषमा उक्त रकम सहयोग गरेको हो ।
होटलका अध्यक्ष जगन्नाथ ज्ञवालीले होटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिनुभयो ।
उहाँले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले संस्थाका तर्फबाट सहयोग गरिएको बताउनुभयो ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन् ।