Google search engine
Home ब्रेकिङ स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा

स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा

0
31

धनकौल (सर्लाही), १४ माघः नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताउनुभएको छ ।

मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त रहनुभएका सभापति थापाले आज धनकौलमा आयोजित कार्यक्रममा सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मलाई यहाँका जनताले खोज्न अब कहीँ जानुपर्दैन, मेरो सम्पर्क कार्यालय यहीँ रहन्छ मैले पहाड बुझेँ, सहर बुझेँ र यसपटक मधेस बुझ्न उम्मेदवारीसहित यहाँ आएको हुँ । यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आफ्नो संयन्त्र, अनुभव र ज्ञानको अधिकतम सदुपयोग गरी समस्या सम्बोधनमा तल्लीन हुनेछु । तपाईँको नेता नभई बेटा (छोरा) बन्न सर्लाही आएको हुँ । तपाईँहरूले दिएको मतको सम्मान गर्दै विकास निर्माणलगायतका काममा समर्पित हुनेछु ।”

आफ्नो निर्वाचन क्षेत्रमा भएका भेटघाट तथा छलफलका क्रममा प्राप्त राय, सुझाव र अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सर्लाहीवासीको अनुरोधपछि यहाँ आएकाले माया पाउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ अन्तर्गत प्रदेश ‘ख’ को प्रदेशसभाका उम्मेदवार कृष्णकुमार कुशवाहसहित गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, २ का वडाध्यक्ष अजयप्रसाद शाह, ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डितसहितका विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । उहाँको यही माघ १६ गते शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here