सरकारले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनको वातावरण निर्माण गर्नुपर्छ : पूर्वमन्त्री दिपक खड्का

0
6

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सरकारले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

नेता खड्काले आज एक विज्ञप्ती जारी गरी सरकारले फागुन २१ का लागि निर्वाचन तोकेको भन्दै निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताउनुभएको हो ।

“नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो, नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको लोकतन्त्र, संविधान र नागरिक स्वतन्त्रता कुनै पनि अवस्थामा कमजोर पारिनु हुँदैन, कांग्रेस सधैँ शान्ति, लोकतान्त्रिक अभ्यास र राष्ट्रनिर्माणको मार्गमा प्रतिबद्ध रहँदै आएको छ,”– उहाँले भन्नुभयो ।

पूर्वमन्त्री खड्काले उम्मेदवारलाई स्वतन्त्र रूपमा मतदातासँग भेटघाट गरी मत माग्ने वातावरण बनाउनु र नागरिकको सुरक्षा सुनिश्चित गर्नु सरकारको जिम्मेवारी भएको बताउनुभयो । संविधानले प्रत्याभूत गरेको वाक् स्वतन्त्रताको सम्मान गर्नुको सट्टा दमन र डरको राजनीति अपनाउनु लोकतन्त्रका लागि गम्भीर चुनौती बनेको उहाँको भनाई थियो ।

उहाँले संविधानको धारा १७ (१) ले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा २७ ले सूचनाको हक र धारा १९ ले शान्तिपूर्ण सभा तथा प्रदर्शनको अधिकार सुनिश्चित गरेको भन्दै उक्त संवैधानिक अधिकारको प्रयोग गर्न लाग्नुपर्ने बताउनुभयो ।

नेता खड्काले सामाजिक अभियन्ता दुर्गा प्रसाईंलाई पटक–पटक पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र संवैधानिक मर्म विपरीत रहेको बताउनुभयो । उहाँले लोकतन्त्र बलियो बनाउनका लागि जनताको आवाज सुन्ने साहस, संविधानको सम्मान र राजनीतिक परिपक्वता अपरिहार्य रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here