काठमाडौँ, २२ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद इन्जिनीयर मोहन आचार्यले समृद्ध रसुवा निर्माणका कांग्रेसको जीत आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस रसुवा–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले हिमाली क्षेत्र रसुवाको विकासका लागि कांग्रेसको जीत आवश्यक रहेको बताउनुभएको हो ।
“विस २०७४ पछि रसुवाको विकासमा कांग्रेसले धेरै काम गरेका छन्, कांग्रेसले कोरेका मोटरबाटोलाई पूर्णता दिन कांग्रेसका उम्मेदवारको जीत आवश्यक छ, कांग्रेसलाई जिताउन आ–आफ्नो क्षेत्रबाट लाग्नुहोस्,”– उहाँले भन्नुभयो ।
नेता आचार्यले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिएर अगाडि बढेको भन्दै बदलिएको कांग्रेसले मुलुकलाई बदल्ने बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने उहाँको भनाई थियो ।
कांग्रेस नेता एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले नीति र नेतृत्व बदलेको कांग्रेसले देश बदल्ने सङ्कल्पसहित अगाडि बढेकाले रसुवामा कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले कांग्रेसले विगतमा मुलुकको विकासका लागि धेरै काम गरेको बताउँदै यसलाई निरन्तरता दिनपनि कांग्रेसको विजय आवश्यक भएको उल्लेख गर्नुभयो ।
कांग्रेस रसुवाका सभापति एवम् समानुपातिक उम्मेदवार पेम्बा छिरिङ तामाङले मुलुकलाई सङ्कट परेको बेलामा सँधै कांग्रेसले समाधान गर्दै आएको भन्दै अहिलको संकट समाधानमा पनि कांग्रेसको जीत आवश्यक रहेको बताउनुभयो ।

























