काठमाडौँ, ५ चैत । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले पर्यटन क्षेत्रमा व्याप्त फेक रेस्क्यु धन्दा गर्नेहरु विरुद्ध जारी राखेको अनुसन्धानको पहिलो प्रतिवेदन पेश गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयमा हाल पक्राउ परेका १० जना र फरार रहेका २३ जना विरुद्ध १२ सय ४३ पृष्ठको अनुसन्धान प्रतिवेदन पेश गरेको हो ।
२०८२ माघ ११ गते दर्ता भएको जाहेरीको आधारमा सीआइबीले पक्राउ परेका अभियुक्त र फरार रहेका अभियुक्तहरुलाई मुलुकी अपराध संहिताको राष्ट्रहित प्रतिकुल कसुर, आपराधिक लाभ, लिखत सम्बन्धी कसुर र संगठित अपराध सहितको (एकीकृत कसुर) मा मुद्दा लगाउन सिफारिस गरेको छ । उनीहरुबाट ९४ करोड ८४ लाख, ९७ हजार ३ सय ९१ रुपैयाँ बिगो कायम गर्न सिफारिस गरेको छ ।
सीआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोपमा १६ वटा ट्रेकिङ तथा ट्राभल्स कम्पनी, ५ वटा रेस्क्यु कम्पनि, ३ वटा अस्पताल, ४ वटा हेलिकोप्टर कम्पनी, ३ जना विदेशी बीमा कम्पनिका नेपाली एजेन्ट र १ जना गाइडलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरिएको जानकारी दिए । सिआईबीले पाँच महिना लगाएर सन् २०२२ देखि २०२५ सम्मको फेक रेस्क्युको अनुसन्धान गरेको हो ।
ट्रेकिङ कम्पनीहरुले पर्यटकलाई बीमा गर्नका लागि अनुकुल कम्पनि छनौट गर्ने, पर्यटकको आइटिनरी तयार गर्ने, गाइडको व्यवस्थापन गर्ने र रेस्क्यु कम्पनिसँग समन्वय गरेर फेक रेस्क्यु धन्दामा संलग्न भएका थिए । उनीहरुले रेस्क्यु कम्पनि र अस्पतालसँग अवैध रुपमा कमिशन लिएर आपारधिक लाभ लिने गरेको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै, गाइडहरुले पर्यटकलाई पदयात्राका लागि गन्तव्यसम्म लैजाने, म्यानुपुलेटेड अरजेन्सी (बाध्य बनाउने) तयार गरी पर्यटकलाई हेलिकोप्टरका लागि मगाउन बाध्य बनाउने र न्युनतम सावधानी पनि नअपनाई हेलिकोप्टरका लागि कन्भिन्स गर्ने गरेको अनुसन्धानले देखाएको छ । गाइडहरुले हेलिकोप्टरमा फर्कदा अर्को समुहसँग पदयात्रा जान पाइने र दैनिक ज्यालापनि बच्ने र कमिसन पनि पाइने लोभमा गाइडहरु परेको देखिन्छ ।
रेस्क्यु कम्पनिहरुले रेस्क्यु गर्ने पर्यटको बीमा नीतिको पेपर लिने, पर्यटकहरुलाई हेलिलिफुट गरी सम्बन्धित अस्पताल पठाउने, बीमा कमपनिसँग जिओपी लिने र बीमा दाबी गर्ने भूमिका खेलेका थिए । रेस्क्यु कम्पनिहरुले हेलिकोप्टरको लागेको खर्च कटाई बीमा बापनको रकम केही प्रतिशत ट्रेकिङ कम्पनिलाई दिई बाँकी आपराधिक लाभ अबैध कमिशन लिने गरेको अनुसन्धानमा देखिएको छ ।
हेलिकोप्टर कम्पनिहरुले हेलिलिफ्ट गरी पर्यटकलाई ल्याउने, प्यासेन्जर म्यानिफेस्टमा किर्ते गरी गराई रेस्क्यु कम्पनिलाई पठाउने गरेको खुलेको छ । ती कम्पनिहरुले रेस्क्यु कम्पनिसँग मिलेमतो गरी आफ्नो नियमित फ्लाइटको व्यापार बढाउने काम गरेको अनुसन्धानमा देखिएको छ ।
अस्पतालहरुले भने स्वास्थ्य प्रोटोकल भन्दा बढी बीमा दाबीका लागि विरामी भर्ना गर्ने, भर्ना गरिएको पर्यटकहरु होटल गई बस्ने वा घुम्न जाने र पछि डिस्चार्ज लिन आउने, नक्कली स्वास्थ्य रिपोर्ट बनाई दाबी गर्ने, बढीबढाई बिल तयार गरी स्वास्थ्य बीमा दाबी लिने, रेस्क्यु कम्पनी र ट्रेकिङ कम्पनिसँग बाँडफाँड गरी लाभ लिने गरेको सीआइबीको अनुसन्धानमा देखिएको छ । अस्पतालहरुले स्वास्थ्य बीमा दाबी गरेर अपराधिक लाभ लिएको देखिन्छ ।
रेस्क्यु कम्पनिहरुले लागत कटाएर ७० प्रतिशत रकम बाँडफाँड गर्ने गरेको अनुसन्धानमा देखिएको छ ।























