काठमाडौँ, २८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिन नमिल्ने बताउनुभएको छ ।
आज सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले सङ्घ नागरिकले जस्तै संस्था दर्ता ऐनअन्तर्गत स्थापना भएकाले एउटा संस्थालाई मात्रै एकाधिकार दिनेकुरा जायज नहुने बताउनुभएको हो ।
मन्त्री सिन्हाले मुलुकको परिवर्तित सन्दर्भ र सङ्घीयताअनुसार पनि एउटै संस्थालाई एकाधिकार हुनेगरी कानुनी व्यवस्था गर्न उपयुक्त नहुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल पर्वतारोहण सङ्घले हालसम्म गरी आएको काम र योगदान अतुलनीय छ, तथापि यो संस्थाको सुरुआत र स्थापना कसरी भएको छ भनेर हेर्नुपर्छ । उहाँहरूले संस्था दर्ता ऐनअन्तर्गत केही सीमित व्यक्तिहरूबाट सुरु गरेर हाल ठूलो आकारमा काम गरिराख्नुभएको छ । यस्तै प्रकृतिका अरु संस्था पनि छन् । त्यसैले एउटालाई एकाधिकार दिने कुरा राम्रो हुँदैन ।”

























