काठमाडौं, २ चैत। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आगामी नेतृत्वका लागि युवा विद्यार्थी नेता आदित्य कुमार दास सक्रिय रूपमा अघि बढेका छन्। विद्यार्थी राजनीति र संगठन निर्माणमा निरन्तर सक्रिय दासलाई अहिले नेविसंघको नेतृत्वका सम्भावित युवा अनुहारका रूपमा हेरिन थालिएको छ।
सप्तरी मूलका दास विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनी हाल नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य समेत हुन् र संगठनभित्र शक्तिशाली तथा ऊर्जावान् युवा नेताका रूपमा चिनिन्छन्। विद्यार्थीका हक–हित, शैक्षिक सुधार तथा लोकतान्त्रिक मूल्यको पक्षमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्।
यसअघि दास सप्तरी–काठमाडौं सम्पर्क समिति का अध्यक्षसमेत रहिसकेका छन्। सो भूमिकामा उनले काठमाडौंमा रहेका सप्तरीवासीबीच आपसी एकता, सहयोग र सामाजिक सक्रियता बढाउने काम गरेका थिए। संगठन निर्माण र नेतृत्व क्षमताका कारण उनी छोटो समयमै युवामाझ लोकप्रिय बन्न सफल भएका छन्।
दासको राजनीतिक विद्यार्थी जीवन पशुपति बहुमुखी क्याम्पस बाट सुरु भएको मानिन्छ। क्याम्पस राजनीतिबाटै उनले विद्यार्थी आन्दोलन, अन्तरक्रिया कार्यक्रम तथा विभिन्न सामाजिक अभियानमार्फत युवालाई संगठित गर्ने काम गरेका छन्।
पछिल्ला वर्षहरूमा दासलाई सप्तरीका मात्र होइन, समग्र मधेश प्रदेश का युवामाझ अत्यन्तै लोकप्रिय युवा नेताका रूपमा हेरिन थालिएको छ। मधेशका युवाको आवाज राष्ट्रिय स्तरको विद्यार्थी राजनीतिमा सशक्त रूपमा उठाउने उनको प्रयासलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।
नेविसंघको नेतृत्व चयनको चर्चा चलिरहेका बेला दासजस्ता युवा नेताको सक्रियताले संगठनभित्र नयाँ ऊर्जा र उत्साह थपिएको विद्यार्थी वृत्तमा चर्चा छ। विद्यार्थीलाई एकताबद्ध गर्दै संगठनलाई अझ सशक्त बनाउने लक्ष्यसहित दास अहिले देशभरका विद्यार्थीहरूसँग संवाद र भेटघाटमा सक्रिय देखिएका छन्।























