काठमाडौँ, ९ फागुन । मानवसेवा आश्रमका संस्थापक एवं वरिष्ठ समाजसेवी रामजी अधिकारीले मुलुकको विकासका लागि प्रविधिमूलक शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।
नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३३औँ अभिभावक दिवसका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विकासका लागि प्रविधि र सीपमूलक शिक्षा आवश्यक रहेको बताउनुभएको हो । उहाँले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नेपाल हरेक वस्तुले धनी मुलुक भएको भन्दै त्यसलाई सही रुपमा उपयोग गर्न व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि काठमाडौँ महानगरपालिका लागिरहेको उहाँको भनाइ थियो ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान)का उपाध्यक्ष एवं लिङ्कन कलेजका अध्यक्ष विष्णुप्रसाद पौडेलले कितावको ज्ञानमात्र नभई व्यावहारिक ज्ञान अहिलेको आवश्यकता भएको बताउनुभयो ।
नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारी, सहप्राचार्य विकासराज शर्मा, नेपाल सरकारका पूर्वउपसचिव देशबन्धु अधिकारी, नेपाली सेनाका पूर्वजर्नेल धर्म बानियाँलगायतले सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्न र आफ्ना बाबुनानीलाई अभिभावकले समय दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो । नवोदित कलेजले पछिल्लो समय प्रत्येक बिहान योग प्रशिक्षणसमेत सुरु गरेको छ ।
























