Home समाचार नयाँ सरकारलाई अवसर छ, सघाउन तयार छौँ : मन्त्री पौडेल

नयाँ सरकारलाई अवसर छ, सघाउन तयार छौँ : मन्त्री पौडेल

0
22

पोखरा १८ चैत । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् ।

बुधबार सिटीवान टेलिभिजनको आयोजनामा भएको नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले दबाबमुक्त भएर काम गर्न सके जनतामा आशाको सञ्चार गराउन सकिने विश्वास व्यक्त गरे ।

विगतका सरकारलाई जस्तो दबाब समुहको प्रभाव वर्तमान सरकारलाई नभएको भन्दै सरकारले गर्ने निर्णय र क्षमतामा आगामी यात्रा तयार हुने तर्क उनको छ । सरकारलाई सफल बनाउन आफ्नो ठाउँबाट सघाउने प्रतिवद्धता उनको छ । मन्त्री पौडेलले गण्डकी प्रदेश सरकारका मन्त्रालय मध्यबाट सबैभन्दा बढी आफ्नो मन्त्रालयबाट भएको दावी गरे।

अर्को प्रसंगमा उनले आफ्नो मन्त्रालयले राजश्व सङ्कलनको मात्रा बढाएको र अझै बढाउने उल्लेख गरे । आफू निजी क्षेत्रबाट आएको व्यक्ति भएको कारण समेत प्रगति हासिल गर्न सहज भएको उनको भनाइ छ । लमजुङ उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी समेत रहेका उनले व्यवस्थापन पक्षलाई ध्यान दिँदा राजस्व सङ्कलनमा वृद्धि भएको दावी गरे ।

मन्त्रालयबाट गर्नुपर्ने राहत र अनुदान वितरण सकिएको भन्दै उनले वन क्षेत्रको लागि २० वर्षको रणनीति तयार बनाएर अगाडि बढेको जनाए । वातावरण तर्फको कामलाई प्रभावकारी बनाउन कार्यविधि निर्माण गरि अर्थमा पठाइएको उनले सुनाए । कतिपय काम प्रदेश सरकारले मात्र गर्न सम्भव नभइ सङ्घमा भन्नुपर्ने भएकोले समस्या भएको उनले बताए ।

व्यवसायी र सञ्चारकर्मी एक अर्काका परिपुरक भएको भन्दै उनले जनतालाई सुसूचित गराउने काम सञ्चार क्षेत्रको भएकोले अनुसन्धान गरेर राम्रो नराम्रो पक्षलाई उजागर गर्नुपर्नेमा जोड दिए । यसमा सिटीवान टेलिभिजनले गरेको कार्य सराहनीय रहेको बताए । जसले जे जिम्मेवारी पाएको छ त्यसलाई इमानदारी पूर्वक गर्न सके हरेक क्षेत्रमा सफल हुने उनको भनाइ छ । लगानी गर्नको लागि गण्डकी उपयुक्त ठाउँ भएकोले सबै एक भएर यस प्रदेशको विकासका लागि लाग्नुपर्नेमा उनको जोड थियो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here