‘देश विकासमा महिलाको भूमिका महत्त्वपूर्ण’

0
16

काठमाडौँ, ९ भदौ । बागमती प्रदेश सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले देशको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल व्यापार सङ्घले आज यहाँ आयोजना गरेको तिज विशेष कार्यक्रममा मन्त्री खड्गीले मुलुकको परिवर्तन र विकासमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । “देश विकासमा महिलाको भूमिका उच्च रहेको छ, महिलाहरु उद्यमी भएर आत्मनिर्भर भएकोप्रति खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्गीले राजनीतिमा महिला अगाडि बढ्न धेरै सङ्घर्ष गर्नुपरेको बताउँदै विभिन्न कालखण्डमा महिलाले गरेका आन्दोलनका कारण देशको प्रमुख तहमा आज महिला पुग्न सफल भएका उल्लेख गर्नुभयो । महिलाहरु इमान्दारिताका साथ शून्य भ्रष्टाचारको नीतिमा काम गर्ने भएकाले देशको सुशासनमा महिलाको भूमिका उच्च रहेको उहाँको भनाइ छ ।

सङ्घका अध्यक्ष हरि गौतमले नेपाल व्यापार सङ्घले देशको आर्थिक क्षेत्रमा महिलालाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । महिलालाई सक्षम र उद्यमशील बनाउन व्यापार सङ्घ सदैव क्रियाशील रहँदै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रमकी संयोजकसमेत रहनुभएकी सङ्घकी महिला उपाध्यक्ष पार्वती भट्ट पौडेलले महिलालाई एकीकृत गरी खुसी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने अवसरका रूपमा तीज रहेकाकाले सोही पारेर कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

नेपालको मौलिक कला र संस्कृतिको संवर्द्धन एवं संरक्षण गर्नुका साथै प्राकृतिक, दैविक विपत्तिमा मानवीय सहयोगका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी समाजमा योगदान गर्नुहुने समाजसेवी कृष्ण कँडेललाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here