काठमाडौँ, २० माघ । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखाली जनताले दिएको सुझाव र गुनासोको सम्बोधन गर्दै गोरखा–२ को विकास अगाडि बढाउने बताएका छन् ।
गोरखा–२ का मतदाता तथा शुभचिन्तकसँग आज भएको छलफलमा उहाँले आम गोरखाबासीले दिएको सुझाव र गुनासोलाई सम्बोधन गरेर गोरखाको विकासमा लाग्ने बताएका हुन् ।
दवाडीले त्यो क्षेत्रको विकासका लागि के–के काम गर्नुपर्छ र एजेण्डामा के कुरा समावेश गर्नुपर्छ भनेर मतदाता तथा शुभचिन्तकसँग राय सुझाव लिएका थिए । “कतिपय कुरा मलाई पनि थाहा हुँदैन, अन्तरक्रियाबाट आएका सुझावलाई आधार मानेर अघि बढ्छु’ जनताको मन जित्ने गरी काम गर्छु, यसमा कुनै शंका गर्नु पर्दैन,”– उनले भने ।
कांग्रेसका उम्मेदवार दवाडीले अन्तरक्रियामा आएका सुझाव, गुनासा र टिप्पणीलाई आफूले टिपोट गरेको बताए । मतदाता तथा शुभचिन्तकले गोरखा पर्यटकको राम्रो सम्भावना भएको ठाउँ भएकाले पर्यटनका एजेण्डालाई जोड दिन पनि सुझाव दिइएका थिए ।
त्यस्तै, गोरखामा कृषिको पनि प्रचुर सम्भावना भएकाले कृषिमैत्री योजना अघि सार्न सहभागीहरुले सुझाव दिए । दवाडीले कृषकले उत्पादन गरेका सामग्री बिक्रीवितरणका लागि सहज वातावरण बनाउने र उचित मूल्य पाउने कुरामा आफू लागिपर्ने बताए । सहभागीहरुले कतिपय सडक अपूरा भएको, विजुली सबै ठाउँमा पुग्न नसकेको, पूर्वाधार बन्दै गरे पनि सम्पन्न हुन नसकेको पनि गुनासा गरेका थिए ।
“म पात्र हुँ, चुनाव जित्ने तपाइहरुले नै हो’ मैले हिजो पनि रुवाइन र भोलि पनि तपाइहरुलाई रुवाउने काम गर्दिन,”–उनले भने । उम्मेदवार दवाडीले सबै नेता तथा शुभचिन्तकलाई एक पटक गाउँ पुगेर आफ्नो अवस्था बुझिदिन आग्रह गरेका छन् ।
“म एक पटक तपाइहरुलाई गाउँ पुगिदिन आग्रह गर्दछु, जसले जे प्रतिक्रिया दिन्छ त्यही भनिदिनुहोला’ ‘यस पटक हामीले चुनाव जित्नु छ त्यसैले पनि गलत तथ्यांक मलाई नदिनुहोला, जे छ त्यो भनिदिनुभयो भनें मलाई थप रणनीति बनाउन सजिलो हुन्छ,”– उनले भने ।
कार्यक्रममा कांग्रेस नेत्री एवम् राष्ट्रियसभा सदस्य कमला पन्त, कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारका साथै गोरखाका नेता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
दवाडी २०७४ सालको प्रदेशसभाको निर्वाचनमा गोरखा–२ को (ख) प्रदेशबाट निर्वाचित भएका थिए । उनले त्यतिबेला पनि आफूले सांसदबापत पाउने तलब समाजसेवामा खर्च गरेका थिए । उनले प्रतिनिधिसभाको सांसद भएर पनि तलव र सुविधा समाजसेवामा लगाउने बताएका छन् ।
प्रदेश सांसद हुँदा गरेका राम्रा काम पनि आज चुनाव जित्ने आधार भएको उनले बताए । उनले ‘मेरो राजनीति तपाइहरुकै सेवाका लागि, मेरो राजनीति समाजकै टेवाका लागि’ भन्ने नारा नै बनाएका छन् ।

























