काठमाडौँ, १८ माघ । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँगै अछाम जानुभएका सिटौला एक्कासी बेहोस भएपछि उपचारका लागि शुक्रबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी ल्याइएको थियो ।
अस्पतालले आज पत्रकार सम्मेलन गरेर ४५ वर्षीय पत्रकार सिटौलाको आज दिउँसो १२.४५ बजे निधन भएको जानकारी दिएको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले विरामीको हेरचाहमा सबै सम्भावित चिकित्सकीय प्रयास गरेपनि पत्रकार सिटौलालाई बचाउन नसकिएको जानकारी दिनुभयो ।
शुक्रबार सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएका सिटौलालाई गम्भीर सबअरेनहाइड हेमोरेजको लागि स्थापित प्रोटोकलअनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमद्धारा संयुक्त रुपमा ईन्टेन्सिभ केयर युनिट (आईसीयु) मा भर्ना गरिएको डा विजुक्छेले बताउनुभयो ।
ग्राण्डीका आईसीयु शाखा प्रमुख डा आनन्द ठाकुरले सिटौलालाई आईसीयुमा राख्दा डायबिटिज इन्सिपिडसको समस्या विकसित भएको जुन तत्कालै पहिचान गरी स्थापित मार्गदर्शनअनुसार व्यवस्थापन गरिएको बताउनुभयो ।
आईसीयुका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा नपरेको र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तीमा कुनै संकेत देखा नपरेको डा ठाकुरले बताउनुभयो ।
स्वर्गीय पत्रकार सिटौलाको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेरमा चलचित्र विकास बोर्डमा लगिने चलचित्र पत्रकार संघले जनाएको छ ।
























