गण्डकी सरकारमा एमाले, मनाङे आउट भए

0
12

भाद्र १८, २०८१ पोखरा । गण्डकी सरकारमा नेकपा (एमाले) प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । पार्टी केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी श्रेष्ठ नेतृत्वमा एमाले सरकारमा सामेल भएको हो । जिसीलाई कृषि, भूमि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ । बागलुङका कृष्णप्रसाद पाठक स्वास्थ्यमन्त्री बनेका छन् । पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भए ।

चर्चामा रहेको नेसपा सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई एमालेले सुरुवाट हटाउनैपर्ने अडान लिएको थियो । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उनीहरुलाई नहटाउने बताएपछि एमाले उनीहरुलाई कांग्रेसको कोटामा राखेर सरकारमा जान सहमत भयो । कांग्रेसले पनि दुवैलाई आफूले पाएको मन्त्रालयमा राख्न तयार भयो । ९ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेले ४ मन्त्रालय पाएको छ । कांग्रेसले आफ्ना ३ जना मात्रै मन्त्री राखेर बाँकी २ मन्त्रालय देवकोटा र मनाङेलाई दिएको हो । कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छन् । अर्थमन्त्री डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा छन् । देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी र मनाङेलाई भौतिकबाट निकालेर वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ । तर मनाङेले मन्त्रालयमा चित्त नबुझेको भन्दै राजीनामा दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here