Home ब्रेकिङ एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलतः कांग्रेस

एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलतः कांग्रेस

0
25

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउसम्बन्धी पछिल्लो घट्नाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै गत भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गत भदौ २५ गते नै कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंशको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको स्मरण गराउनुभएको छ ।

यसैगरी भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘भदौ २३ र २४ गतेका घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन’ आग्रह गरेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रारम्भबाट नै भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहरहित ढङ्गले छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्छ भन्ने पक्षमा अविचलित र दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

यही चैत ६ देखि ८ गतेसम्म बसेको कांग्रेसको बैठकले गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो । साथै कांग्रेसले भदौ २३ मा भएको राज्य शक्तिको दुरुपयोग तथा भदौ २४ गतेको विध्वंशका घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न पुनः आग्रह गरेको जनाएको छ ।

कांग्रेसले सरकारले ‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सो बमोजिम गर्ने, तर अन्यमा हकमा तत्काल कार्यान्वयन गर्ने’ भन्ने निर्णय गर्नु र पक्राउ गर्नुले भदौ २३ को एउटै घटना, एउटै छानबिन प्रतिवेदन र एकै किसिमको सिफारिसमा पनि सरकारको व्यवहार ‘सेलेक्टिभ’ भएको भनी टिप्पणी गरेको छ ।

यसैगरी कांग्रेसले भदौ २३ र २४ का घटनालाई निष्पक्ष छानबिन गरी न्याय निरुपण गर्नुपर्ने माग गर्दै त्यसमा आफ्नो साथ रहने समेत जनाएको छ । “दुवै दिनको घटनामा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्छ, त्यसमा हाम्रो साथ रहन्छ । तर, त्यो कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानुनी प्रक्रियाबमोजिम हुनुपर्छ । यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुनसक्छ, देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ”, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच कांग्रेस नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिका नाममा छुट्टै विज्ञप्ति जारी गरी पक्राउ प्रकरणप्रति आपत्ति प्रकट गर्नुभएको छ । उहाँले संवैधानिक, कानुनी र राजनीतिक प्रतिवाद गरिने उल्लेख गर्नुभएको छ ।

यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह’ भएको बताएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले आज एक विज्ञप्ति जारी गरी यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नाका साथै देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराएको उल्लेख गर्नुभएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here