काठमाडौँ, २१ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन लागेको बताउनुभएको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आज आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उहाँले सबै मुलुकसँगको सम्बन्ध सरकारले राम्रो बनाउने बताउनुभएको हो ।
“मध्यपूर्वमा देखिएको हिंसाका कारण नेपालको भान्सामा असर परिरहेको छ, आपूर्ति श्रृङ्खला बन्द नहोस् भनेर हामी सचेत छौँ, छिमेकी मुलुकहरुसँग पनि छलफल भइरहेको छ,”–मन्त्री खनालले भन्नुभयो ।
उहाँले विदेशमा रहेर समस्यामा परेका नेपालीलाई सरकारले विशेष उडानको व्यवस्था गरेका उल्लेख गर्नुभयो । काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधीसभा सदस्यसमेत रहनुभएका मन्त्री खनालले टोखा र तारकेश्वर क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानमा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
शिवपुरी जलाधार क्षेत्रमा रहेको पानीलाई संरक्षण गरी टोखा र तारकेश्वरमा प्रयोग गर्न सकिने भएकाले स्थानीय सरकारसँगको सहकार्यमा यसलाई अगाडि बढाइने उहाँको भनाई थियो । उहाँले सुशासन र समृद्धि रास्वपाको मुख्य एजेण्डा रहेको उल्लेख गर्नुभयो ।
मन्त्री खनालले गोँगबु, नयाँबसपार्क क्षेत्रमा देखिएको विकृति विसङ्गती अन्त्यका लागि आफ्नो साथ नेपाल प्रहरीलाई रहेको भन्दै ढुक्क भएर यहाँको वेतिथी हटाउन प्रहरीलाई निर्देशन दिनुभयो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) इश्वर कार्कीले शान्तिपूर्ण समाज निर्माणका लागि प्रहरी समुदायसँग मिलेर अगाडि बढ्ने बताउनुभयो । समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी जनतासँगै रहेको उहाँको भनाई थियो ।
एआईजी कार्कीले नयाँबसपार्क क्षेत्रको विकृति विसंगतीलाई प्रहरी एक्लैले हटाउन नसक्ने भन्दै स्थानीय जनप्रतिनिधीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँबसपार्क क्षेत्रमा प्रहरीलाई बसोबास गर्नका लागि भवन नहुँदा समस्या परेको समेत बताउनुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखामा सबैभन्दा धेरै खानेपानीको समस्या रहेको भन्दै यसको व्यवस्थापनका लागि केन्द्र सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । केन्द्र सरकारसँग सहकार्य गरेर टोखाको विकासमा लागिने उहाँको भनाई थियो ।
नेपाली कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्माले जनताको इच्छा आकांक्षा र चाहनालाई पुरा गर्न वर्तमान सरकार लाग्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख रमेश थापाले अपराध न्यूनीकरणका लागि समुदाय प्रहरीबीच सहकार्यको खाँचो रहेको बताउनुभयो ।
टोखा नगरपालिका–९ का वडाअध्यक्ष रामभक्त घिमिरेले बसपार्क क्षेत्रमा शान्तिसुरक्षा कायम राख्नुपर्ने, कोरिडोरको मापदण्ड तोक्नुपर्ने, डुबानको समस्या हटाउनुपर्ने, चक्रपथ चाँडो निर्माण गर्नुपर्नेलगायतका माग संघीय सरकारसँग राख्नुभएको थियो ।
साउथ वेस्र्टन स्टेट कलेजका सहायक प्राचार्य हरिसिंह केसीले झण्डै दुई तिहाईको जनमत पाएको वर्तमान सरकारले जनतामा महसुस हुनेगरी काम गर्नुपर्ने बताउनुभयो ।
केन्द्रकी अध्यक्ष मीना शिवाकोटीले नयाँबसपार्क क्षेत्रभित्र देखिएको विकृति हटाउनका लागि केन्द्रले स्थानीय तह र नेपाल प्रहरीसँग सहकार्य गरेर काम गर्दै आइरहेको उल्लेख गर्नुभयो । सोही अवसरमा सामुदायिक सेवा केन्द्रद्धारा प्रकाशित २०८३ सालको भित्तेपात्रो विमोचन गरिएको थियो ।






















